काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक (एसएसपी) सन्तोष खड्कालाई बयानका लागि बोलाएको छ ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई अनुसन्धान कार्यालयले नियन्त्रणमा राखिरहेका बेला आइतबार अपरान्ह आयोगको टोली भेट्न पुग्दा खड्काले अनुमति नदिएपछि उनलाई बयानका लागि डाकिएको हो ।
यही विषयमा सोधपुछ गर्न आयोगले मंगलबार बिहान साढे ११ बजे कार्यालयमा बोलाएको आयोगका प्रवक्ता टीकाराम ढकालले बताए।
आइतबार नै यस विषयमा आयोगले विज्ञप्ति जारी गरेर आपत्ति जनाएको थियो। आयोगले आफूलाई प्राप्त संवैधानिक तथा कानूनी अधिकारको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराएको थियो।



