काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले आज अधिकारीसहित बसन्त कुमार बस्याल क्षेत्री, सुरेश चौधरी र रश्मिता श्रेष्ठविरुद्ध सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
अख्तियारका अनुसार चीनको बोर्डरमा रोकिएको सामान आयात गर्न स्वीकृति दिलाइदिने भन्दै अधिकारीले सेवाग्राहीसँग ह्वाट्सएपमार्फत कुराकानी गरी घुस रकम माग गरेका थिए। अनुसन्धानका क्रममा अधिकारीले आफ्नो पद तथा ओहदाको दुरुपयोग गर्दै अन्य तीन जनासँगको मिलेमतोमा कम्पनी, उद्योग तथा भन्सार एजेन्टसँग सम्बन्धित व्यक्तिहरूलाई खाद्य आयात अनुमति तथा विभागबाट हुने सार्वजनिक सेवामा सहजीकरण गरिदिने भन्दै रकम मागेको पाइएको अख्तियारको दाबी छ।



