काठमाडौं । प्रहरीले पत्रकार पक्राउ गरेकोविरुद्ध नेपाल पत्रकार महासंघले आज बिहान काठमाडौँमा विरोध प्रदर्शन गरेको छ।
महासंघको नेतृत्वमा पत्रकारहरू माइतीघर मण्डलामा झरीको पर्वाह नगरी भेला भएर विरोध प्रदर्शन गरेका हुन्।
शुक्रबार साँझ सादा पोसाकका प्रहरीले समाचार कक्षमै प्रवेश गरेर नेपालप्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका पत्रकार धीरज बस्नेत, मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई नियन्त्रणमा लिएको थियो।
यस्तै पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन सादा पोसाकका प्रहरी नयाँ पत्रिकाको कार्यालयमै प्रवेश गरेका थिए। मैनाली नभेटिएपछि प्रहरीले नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तसँग अढाई घण्टा गलफती गरेको थियो।
पत्रकार पक्राउको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन० को सचिवालयले यसमा प्रधानमन्त्रीको कार्यालय तथा सचिवालयको कुनै संलग्नता नरहेको दाबी गरेको थियो।
