काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्कासँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्धीन नोमन चौधरीले शिष्टाचार भेट गरेका छन् ।
उनीहरुबीच आइतबार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा भेटवार्ता भएको हो ।
भेटमा ऊर्जामन्त्री खड्काले नेपालमा जलविद्युतको प्रचुर सम्भावना रहेको र बङ्गलादेशमा बढ्दो ऊर्जा आवश्यकता रहकोले दुई देशबीचको ऊर्जा सहकार्यलाई अझ गहिरो बनाउन भेटले सहयोग पुगेको बताए।
मन्त्री खड्काले ६८० मेगावाटको सुनकोशी जलाशययुक्त जलविद्युत आयोजनाको निर्माण र विकासका लागि नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त उपक्रम सम्झौता हस्ताक्षरका लागि आवश्यक प्रक्रिया अगाडि बढेकोमा राजदूतावासबाट आवश्यक पहल हुने विश्वास व्यक्त गरे।
भेटमा राजदूत चौधरीले बङ्गलादेशले चाँडै नै ४० मेगावाट विद्युत खरीद सम्झौता गरेर नेपाल र बंगलादेशबीचको ऊर्जा सहकार्यलाई अगाडि बढाउन खोजेको बताए।


