काठमाडौं । धेरै कर्मचारी बरण्डामा थन्किएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक्सन लिएको छ । कार्यालयले आइतबार अबको तीन दिन भित्रमा कर्मचारी व्यवस्थापन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई कडा निर्देशन दिएको हो ।
अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बरण्डामा ३५ र गृह मन्त्रालयमा २५ उपसचिव अहिले बरण्डामा थन्काइएका छन् । गृहका अतिरिक्त समूहमा १९ उपसचिव, ४ सहसचिवको व्यवस्थापन हुन बाँकी रहेको छ ।
देशभरका ७५३ स्थानीय तहमध्ये २५० भन्दा बढी स्थानीय तह निमित्तकै भरमा चलिरहेको छ । यति धेरै निमित्त भएको यो पहिलो पटक हो । ११ उपमहानगरमध्ये १० वटामा प्रमुख प्रशासकीय अधिकृत पद रिक्त छ । सहसचिवको दरबन्दी रहने ६ वटा महानगरमध्ये वीरगन्जमा प्रमुख प्रशासकीय अधिकृत पद रिक्त छ ।
निजामती सेवा ऐनले कुनै पनि कर्मचारीलाई दुई महिना भन्दा बढी जिम्मेवारविहिन बनाएर राख्न मिल्दैन भन्छ तर पछिल्लो समय मन्त्री र सचिवको द्धन्दका कारण संघीय मामिला तथा सामान्य प्रशासनले कर्मचारी खटन पटन गर्न सकिरहेको स्थिति छैन ।
तीन दिनभित्र कर्मचारी व्यवस्थापन गरिसक्न र उक्त व्यवस्थापन भए नभएको अनुगमन गरी चौथो दिन प्रतिवेदन पेस गर्न केन्द्रलाई लिखित रूपमै कार्यार्थ दिइएको हो ।
