काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानी गढीमा भएको यात्रुवाहक गाडी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । ६ जना घाइते छन् ।
आज बिहान करिब ६ः१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको गाडी सडकबाट अन्दाजी ७०० मिटर तल खसेर दुर्घटना भएको थियो । भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा गाडी दुर्घटना भएको हो ।
दुर्घटनामा परेर मृत्यु हुनेहरुमा प्रमोद यादवका २६ वर्षीय छोरा गुडु यादव, २४ वर्षीय बुहारी गायत्री देवी यादव, राम सुनर यादवका २५ वर्षीय छोरा विकेश यादव, १६ वर्षीय छोरा सुधेश यादव, जेठा छोरा अबेधश यादवकी श्रीमती पुनम यादव, नातिनीहरु १० वर्षीय अनु यादव, ७ वर्षीय शिक्षा यादव, ६ वर्षीय दिपिका यादव रहेका छन्।
त्यसैगरी निरसु रायका ४० वर्षीय छोरा राकेश राय, १४ वर्षीय नाती रोहन राय, चन्देश्वर रायका २५ वर्षीय छोरा सुबोध राय रहेका छन्। निरस रायका २५ वर्षीय छोरा राम दुलार राय, अमिरी रायको २५ वर्षीय छोरा राम प्रबेश राय रहेका छन्। त्यसैगरी सवारी चालक कविलासी नगरपालिका–८ का ३० वर्षीय रविशंकर मण्डल रहेको चक्रघट्टा गाउँपालिका अध्यक्ष कृष्ण कुमार यादवले बताएका छन् ।

