काठमाडौं । झारखण्डका पूर्व गभर्नर तथा आदिवासी नेता द्रौपदी मुर्मुलाई भारतीय जनता पार्टीको नेतृत्वमा रहेको एनडीए गठबन्धनले राष्ट्रपतिको उम्मेदवारको बनाएको छ।
भारतीय सञ्चार माध्यमका अनुसार जेपी नड्डाले पहिलो पटक आदिवासी महिला उम्मेदवारलाई प्राथमिकता दिएर उम्मेदवार बनाएको बताए । यदि द्रौपदी मुर्मुले राष्ट्रपति चुनाव जितिन् भने उनी देशको पहिलो आदिवासी महिला राष्ट्रपति हुनेछिन् । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि एनडीए गठबन्धनकी द्रौपदी मुर्मुलाई राष्ट्रपति पदका लागि उम्मेदवार बनाएको भन्दै ट्वीट गरेर आफ्नो प्रतिक्रिया दिएका छन् ।
उनले विपक्षी उम्मेदवार यशवन्त सिन्हाको सामना गर्नेछिन्। द्रौपदी मुर्मु ओडिशाको मयुरभञ्ज जिल्लाकी हुन् र आदिवासी समुदायबाट आएकी हुन्। उनले एक शिक्षिकाको रूपमा काम सुरु गरेकी थिइन् । र त्यसपछि ओडिशाको राजनीतिमा प्रवेश गरिन् । सन् १९९७ मा काउन्सिलरको चुनाव जितेर उनी ओडिशाको रैरङपुरको उपाध्यक्ष भइन्। सोही वर्ष उनी भाजपाको एसटी मोर्चाको प्रदेश उपाध्यक्ष चुनिए। द्रौपदी मुर्मु सन् २०१५ देखि २०२१ सम्म झारखण्डको गभर्नर पनि रहेकी थिइन् ।


