काठमाडौं । काठमाडौं महानगरका वडाध्यक्ष मुकुन्द रिजालले नगरसभा बैठकमा जनप्रतिनिधिहरूको तलब–सुविधा काटेर त्यो रकम विकासको काममा खर्च गर्न प्रस्ताव गरेका छन् ।
महानगरका केही वडाध्यक्षले जनप्रतिनिधहरुलाई औपचारिक पोशाक र लोगोको माग गर्दै औपचारिक पोशाक नलगाउँदा जनताले काठमाडौंका जनप्रतिनिधिलाई चिन्न नसकेको गुनासो गरेका थिए भने वडाध्यक्ष जनप्रतिनिधिहरूले आफ्नो सेवा–सुविधाभन्दा जनताको कामलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
रिजालले भने, ‘हामी लोकसेवा लडेर जागिर खान आएका होइनौँ । आफ्नो इच्छाले जनताको सेवा गर्न आएका हौँ । त्यसैले हामीलाई कुनै तलब–सुविधा चाहिँदैन । हाम्रो सुविधा काटेर लोकसेवा लडेर आएका कर्मचारीको सुविधा वृद्धि गर्दा राम्रो हुन्छ ।’
उनले जनप्रतिनिधिको तलब–भत्तामा मासिक ५५ र ६० लाख खर्च हुने उल्लेख गरे । त्यो काटिएको खण्डमा वर्षको ६ करोड रुपैयाँ र पाँच वर्षमा ३० करोड बचत हुने हिसाब उनले सुनाए । यो रकमबाट महत्त्वपूर्ण विकास आयोजना सम्पन्न हुन सक्ने उनको भनाइ छ
।


