बर्दिया । स्थानीय निर्वाचनमा पार्टीलाई अन्तर्घात गरेको आरोप लागेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपाल दहित आफ्नै निर्वाचन क्षेत्रबाट सिफारिसमा पर्न सकेनन् । बर्दिया क्षेत्र नम्बर २ ले जिल्ला कार्यसमितिलाई बुझाएको सिफारिसमा उनलाई समावेश नगरेको हो ।
राजापुर नगरपालिकाको मेयर र आफ्नै वडाको वडा अध्यक्षलाई अन्तर्घात गरेको उजुरी जिल्ला अनुशासन समितिमा परेपछि अनुशासन समितिले उनलाई स्पष्टीकरण सोधे पनि उनले स्पष्टीकरणको जवाफ दिएका थिएनन् ।
राजापुरको मेयरमा उठेका बर्दिया क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति दिपकजंग शाहले अन्तर्घात गरेर पार्टीलाई क्षती पुर्याएको आरोप लगाउँदै उनको नाम नै सिफारिस गरेनन् । शाह मेयरमा ४७ मतको झिनो अन्तरले पराजित भएका थिए । वडा नम्बर २ का दहितको मतदान केन्द्रमा मेयर र वडा अध्यक्षलाई हँसिया हथौडामा र बाँकीलाई रुखमा मतदान गरिएका मतपत्र प्रशस्तै भेटिएको स्थानीय नेताहरु बताउँछन् ।
पार्टीको १४औं महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य निर्वाचित भएका दहित विजय कुमार गच्छेदारको फोरम लोकतान्त्रिक कांग्रेससंग एकीकरण हुँदा कांग्रेसमा समाहित भएका हुन् ।


