काठमाडौं । सरकारले निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्ति प्रदान गर्न आवेदन आह्वान गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस्तो वृत्ति निजामती सेवा ऐन २०४९,स्वास्थ्य सेवा ऐन ०५३,व्यवस्थापिका संसद ऐन ०६४ बमोजिम सेवाका पदमा बहाल रहेका र कर्मचारी समायोजन ऐन ०७५ बमोजिम सरकारी सेवाबाट प्रदेश वा स्थानीय तहमा समायोजन भएका कर्मचारीका सन्तानले पाउने जनाएको छ ।
यस्तो आवेदन शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयमा दिन सकिने सामान्यद्धारा जारी सूचनामा जनाइएको छ । जसअनुसार,बहालवाला कर्मचारीले आफू कार्यरत कार्यालयको लेटर हेडमा सिफारिस लेख्नुपर्नेछ । यस्तो बृत्तिका लागि कर्मचारी कार्यरत कार्यालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयलाई सिफारिस गरिदिनुपर्नेछ ।
सामान्य प्रशासनको अनुसार यस्तो वृत्ति लिनका लागि कम्तीमा दश जोड दुई वा सो सरहको परीक्षामा कम्तीमा सी प्लस ग्रेड वा दुइ दशमलव ४ जिपिए वा सो सरह अङ्क प्राप्त गरी उत्तीर्ण भएको हुनुपर्ने उल्लेख गरिएको छ । यस्तै स्वदेशी विश्वविद्यालय वा त्यस्तो विश्वविद्यालयको आङ्गिक वा सम्बन्धन प्राप्त स्वदेशी शिक्षण संस्थामा भर्ना भई स्नातक वा सो सरह तहको प्रथम वर्ष तथा पहिलो वा दोश्रो सेमेस्टरमा भर्ना भई अध्ययन गरिरहेको हुनुपर्ने व्यवस्था राखिएको छ भने पच्चीस वर्ष उमेर पूरा नभएकोले मात्र आवेदन दिन पाइने जनाइएको छ । यस्का अलवा निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल वा नेपाल सरकार वा प्रदेश सरकार वा स्थानीय तह वा अन्य सार्वजनिक सेवाको पदमा स्थायी नियुक्ति नभएको हुनुपर्ने छ ।


