काठमाडौं । निषेधाज्ञा लगाएर आजदेखि कोसी प्रदेशको बजेट अधिवेशन सुरु हुँदै छ । प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार दिउँसो २ बजेलाई प्रदेशसभाको बजेट अधिवेशन बोलाएका छन् ।
प्रदेशको नाम पहिचानको आधारमा पुनः हुनुपर्ने माग गर्दै आन्दोलनरत पहिचानवादीको संघर्ष समितिले विराटनगर केन्द्रित आन्दोलनको घोषणा गरेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
पहिचानवादीको आन्दोलनका कारण सम्भावित प्रदर्शन र झडपलाई मध्यनजर गरी प्रशासनले विराटनगरका विभिन्न ठाउँमा निषधाज्ञा लगाएको छ ।
प्रदेश राजधानी विराटनगरमा निधेषाज्ञा लगाएसँगै सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिन्छ । कोसी प्रदेशसभा आसपासको क्षेत्रमा शनिबार अपरान्हदेखि नै सुरक्षाकर्मीले सडकमा बेरियर राखेर आउजाउ गर्न रोक लगाएको छ ।


