काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब आफूले परिणाम देखिने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
उनले शुक्रबार मोरङको मिक्लाजुङ ५ मा माओवादीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै काम नगर्ने मन्त्रीहरुलाई फेर्ने बताएका हुन् । उनले आफ्नो कार्यकाल १ वर्ष पुगेको अवसरमा पुस १० गते विशेष सम्बोधन गर्ने बताए । उनले भने, ‘त्यसपछि नयाँ प्रक्रियाबाट जनताका काम गर्छु ।’ उनले प्रतिबद्धताअनुसार काम नभए मन्त्री फेरेर भएपनि कामलाई गति दिने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले लाभाखोला वृहत खानेपानी योजना सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरे । यस्तै चुलाचुली, मिक्लाजुङ, लेटाङ सडक योजना अगाडि बढाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।