काठमाडौं । आज लमजुङ जिल्लामा सञ्चालित तीन वटा जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द गरिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार लमजुङमा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङदी, ५० मेगावाटको माथिल्लो मर्स्याङदी, ३० मेगावाटको न्यादी जलविद्युतगृहबाट आइतबार विद्युत उत्पादन नहुने भएको हो। मध्यमर्स्याङदी–मर्स्याङदी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावरको ठाउँमा निर्माण गरिएको नयाँ टावरमा तार टाँग्नका लाइन बन्द गर्न लागिएको हो। ती विद्युतगृहबाट आइतबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्युत उत्पादन बन्द हुनेछ।
पहिरोले मध्यमर्स्याङदी–मर्स्याङदी प्रसारण लाइन अन्तर्गत लमजुङको राइनास नगरपालिका–८, माझीगाउँस्थित ९ नम्बर टावर ढालेको थियो। प्राधिकरणले आपत्कालीन पुनर्स्थापना प्रणाली (इआरएस) जडान गरी गत वर्षको २ साउनबाट प्रसारण लाइन सञ्चालनमा ल्याएको थियो।
अहिले उक्त स्थानमा नयाँ टावर निर्माण गरिएको छ। आइतबार इआरएस हटाई नयाँ टावरमा तार टाँगिने छ। यसका लागि उक्त प्रसारण लाइन सट डाउन गरिने छ।