काठमाडौं । आज हरिबोधिनी एकादशीका दिन बिहानैदेखि देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।
पौराणिक कथनअनुसार आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु आज जागा हुने धार्मिक विश्वास छ । त्यसैले विष्णुलाई पूजाआजासहित आराधना गर्न बिहानैदेखि उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । यी नारायण मन्दिरलाई चार नारायण भनिन्छ ।
चार नारायणको आज एकैदिन पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । यसैले टाढा–टाढाबाट पनि भक्तजन सवारीसाधन रिजर्भ गरेर चार नारायणको पूजाआजा एवं दर्शनमा आउँछन् ।


