काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काजमा कार्यरत कर्मचारीहरु फिर्ता पठाउन सात वटा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका सबै निकाय र ७५३ स्थानीय तहलाई परिपत्र गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कृष्ण थापाले गरेको परिपत्रमा कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई दरबन्दी रहेको स्थानमा फिर्ता गर्न भनिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसरी दुर्गममा दरबन्दी राखेर काजमा सुगममा कार्यरत कर्मचारीहरुको संख्या ९ सय भन्दा बढी रहेको बताइएको छ ।
मन्त्रालयले अहिले कोभिड १९ को महामारी सकिएको लामो समय भइसक्दा समेत कोभडिका समयमा उक्त रोगको रोकथाम, नियन्त्रण तथा उपचार प्रयोजनको लागि समायोजन भएको तह र निकायमा दरबन्दी राखि संघ, प्रदेश र स्थानीय तहहरूको विभिन्न निकायहरुमा कामकाजमा खटाईएकोमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई निजहरुको दरबन्दी रहेको तह तथा निकायहरूमा काज फिर्ता गर्ने असार २५ को निर्णय कार्यान्वयनको लागि अनुरोध गरिएको परिपत्रमा उल्लेख गरिएको छ ।
