काठमाडौं । पूर्व मुख्यसचिव लीलामणी पौड्याल नेकपा माओवादी केन्द्रमा खुलेर लागेका छन् । राम कार्कीको अध्यक्षतामा गठन भएको ३१ सदस्यीय विदेश मामिला विभागमा पौड्याल सहित आठ पूर्व राजदूतहरु सदस्य बनेका छन्।
बाबुराम नेतृत्वको सरकारले पौडेल भन्दा अगाडि रहेका १२ जना सचिवलाई पाखा लगाएर उनलाई मुख्यसचिव बनाएको थियो भने अवकाशपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले चीनका लागि राजदूत बनाएका थियो । माओवादीसँग सूरदेखि नै नजिक रहेका पौड्यालको कार्यशैली मन नपरेकै कारण २०७६ फागुनमा उनलाई शर्मा ओली नेतृत्वको सरकारले चीनबाट फिर्ता बोलाउने निर्णय गरेको थियो।
केही साताअघि पौड्यालको गृहजिल्ला गुल्मीमा माओवादीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले दिएको मन्तव्य सामाजिक सञ्जालमा भाइरल बनेको थियो । उनले माओवादी र एमालेलाई उस्तै भन्न नमिल्ने भन्दै देशमा गणतन्त्र आउनमा माओवादीको भूमिका सर्वाधिक रहेको बताएका थिए ।
विभागको उपप्रमुखमा सुरेश आले मगर छन् । पौड्यालसहित पूर्वराजदूतहरू डा. महेश मास्के, ऋषिराम अधिकारी, युवनाथ लम्साल, राममणि पोखरेल, लक्की शेर्पा, पदम सुन्दास, महेन्द्र सिंह विभागको सदस्य बनेका छन्। केपी सरकारले राजदूतबाट उनलाई हटाएर एमालेका नेता महेन्द्रबहादुर पाण्डेलाई चीनका लागि नयाँ राजदूतमा नियुक्त गरेको थियो । माओवादीले रोक्न खोज्दाखोज्दै पनि तत्कालीन सरकारले फिर्ता बोलाएपछि उनी नेकपा एमालेसँग रुष्ट बनेका थिए । डा. महेश मास्के पनि माओवादी कोटाबाटै चीनमा राजदूत बनेका थिए ।