काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको होटल हेरिटेज प्लाजामा केन्द्रीय कमिटी बैठक सुरु भएको हो ।
बैठक पार्टी विधान अनुसार ज्येष्ठ सदस्यको अध्यक्षतामा बसेको हो । यो माओवादी महाधिवेशनपछिको पहिलो बैठक हो । बैठक सुरु हुनुअघि केन्द्रीय कमिटीका सदस्यहरूले सपथ ग्रहण गरेका छन् ।
माओवादीको केन्द्रीय सदस्यमध्ये सबैभन्दा जेठा सदस्य दिनानाथ शर्माबाट केन्द्रीय कमिटी बैठक सुरु भएको छ । अध्यक्ष प्रचण्ड पनि अहिले केन्द्रीय सदस्यकै लहरमा बसेका छन् । उनले केन्द्रीय सदस्यको सपथ खाइसकेका छन् ।
माओवादी केन्द्रको निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले सपथ खुवाएका थिए ।
आजको केन्द्रीय कमिटीको बैठकमा पदाधिकारीको नाम टुंगो लगाउने बताइएको छ । पदाधिकारीमध्ये अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डको विकल्पमा कोही देखिएका छैनन् ।
अध्यक्षपछिको महत्वपूर्ण मानिने महासचिव पदका लागि नेताहरूबीच रस्साकस्सी भएको थियो । जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल लगायतले महासचिवका लागि दाबी गरेका छन् ।