काठमाडौं । टोखा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका मनिष जोशीले दाबी गरेका छन् ।
पारिवारिक पृष्ठभूमि नै राजनीति भएका जोशीले नगरपालिकालाई कस्तो बनाउने भन्ने योजना पनि बनाइसकेका छन् । ‘यो नगरपालिकालाई बनाउने भिजन मसँग छ, अहिलेको नेतृत्वले गर्न बाँकी राखेका सबै काम म गर्ने छु’ उनले भने ‘ म टोखाको माटोमा नै जन्मिएको र हुर्किएको हुँ त्यसैले यहाँका ढुंगामाटासँग पनि मेरो राम्रो सम्बन्ध छ ।’
उनी २०४६ सालबाट कांग्रेसको राजनीतिमा सक्रिय छन् । राजनीतिसँगै समाजसेवामा पनि संलग्न रहेका उनले आफ्नो व्यक्तिगत तर्फबाट गाउँमा हरेक प्रकारका सामाजिक सेवा गर्दै आएका छन् । राजनीति जनताको सेवाको लागि गर्नुपर्छ भन्ने उद्येश्य लिएका उनले भने ‘मलाई मेयर भएर कमाउँला वा त्यहाँ गएर अनियमितता गरौंला भन्ने छैन, कमसेकम त्यहाँ पुगेपछि जनताका चाहना पूरा गर्न सकौं भन्ने हो ।’
उनले भूकम्प र कोरोना संक्रमणको बेलामा पनि विभिन्न जिल्लामा पुगेर राहत तथा अन्य आवश्यकीय सामग्री वितरण गरेका थिए । विभिन्न देशको भ्रमण गरेर त्यहाँको विकास र समग्र अवस्थाको बारेमा जानकारी राखेका उनले टोखालाई पर्यटकीय शहरको रुपमा विकसित गर्ने योजना बनाएका छन् ।
टोखा हरेक प्रकारले पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको भन्दै उनले पर्यटनबाट नगरको विकास गर्ने र नागरिकलाई आत्मनिर्भर बनाउने योजना बनाएका छन् । बुबा गजराज जोशीबाट प्रेरणा पाएर राजनीतिमा लागेका उनी बुबाको त्याग र समर्पणलाई पछ्याउने बताउँछन् । ‘बुबाले मलाई सिकाएर जानुभएको छ, उहाँको ईच्छा पूरा गर्न पनि मैले अझै धेरै गर्नुपर्ने छ’ उनले भने ‘बुबाले गरेको कामलाई नगरवासीले सधैं सम्झिइरहेका छन्, उहाँको सपना पूरा गर्ने मेरो धोको छ ।’
उनले कांग्रेसको १४ औं महाधिवेशनमा क्षेत्र नम्बर ५ को तर्फबाट सभापतिको उम्मेदवारी दिने तयारी गरेका थिए । प्रचार प्रसारसमेत गरिसकेका उनले अन्तिममा आएर पार्टीको निर्णयलाई मानेको बताएका छन् । ‘धेरैले अहिले पनि मलाई त्यतिबेला अन्तिममा पछि हट्यो भनेर भनेर कतैकतै आलोचना गर्दै आएका छन्, मैले पार्टीको निर्णयको सम्मान गरेको हुँ’ उनले थपे ‘म पार्टीको मान्छे हुँ, मैले एक्लै सबै निर्णय गर्न नमिल्ने भएकाले सल्लाहले नै मैले उम्मेदवारी फिर्ता लिएको हुँ ।’
११ वटा वडा रहेको टोखामा नेपाली कांग्रेसले अहिले ५ वटा वडा जितेको छ । मेयर उपमेयर एमालेले नै जितेको छ । वडा नम्बर २ निवासी उनी आफू उम्मेदवार भइरहँदा पार्टीका मतका अतिरिक्त धेरै ‘न्यूट्रल’ मत पनि आउने बताउँछन् । यो वडामा मात्र ३५ सय मतदाता रहेका छन् । उनी यो वडाबाट २५ सयभन्दा बढी मत ल्याउने दाबी गर्छन् । उनी कांग्रेसको १२ औं महाधिवेशनमा अत्यधिक मत ल्याएर जिल्ला कार्य समिति सदस्यमा निर्वाचित भएका थिए । उनी १३ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि भए । राजनीतिसँगै उनी खेल क्षेत्रमा पनि लागेका छन् । उनी अन्तर्राष्ट्रिय खेलाडी हुन् ।