काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा धादिङका बाबुकृष्ण सापकोटाले उम्मेदवारी दिने भएका छन् ।
धादिङबाट समावेशी कोटामा भारी मतले विजयी भएका उनले त्यही कोटा अन्तर्गतको उम्मेदवारी दिन लागेका हुन्
। धादिङको निवर्तमान जिल्ला कोषाध्यक्षसमेत रहेका उनले पार्टीलाई गतिशील र जीवन्त बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन् । राजनीतिलाई समाजसेवाको रुपमा लिँदै आएका उनले कांग्रेसले अब देशको नेतृत्व गर्ने दाबी गरेका छन् । ‘कांग्रेस जनताको पार्टी हो तर पनि हामीले जनतामाझ कांग्रेसको विचार र सिद्धान्त लैजान सकेका छैनौं’ उनले भने ‘ कांग्रेसप्रति मानिसको विश्वास छ त्यो विश्वासलाई थप प्रभावकारी बनाउन सक्छु भन्ने मलाई लाग्छ ।’
२०४१ सालबाट कांग्रेसको राजनीतिमा सक्रिय भएका उनले राजनीतिसँगै समाजसेवा पनि गर्दै आएका छन् । ‘केही पाइन्छ भनेर राजनीति गरेको होइन मैले तर पद भएपछि काम गर्न सजिलो हुन्छ भन्नेचाहिँ हो’ सापकोटाले भने ‘अलमलिएको कांग्रेसलाई सही ‘ट्रयाक’ मा ल्याउन पनि मेरो भूमिका प्रभावकारी रहन्छ भन्ने लाग्छ ।’ उनले कोरोनाको कालमा धेरै स्वास्थ्य सामग्रीका साथै खाद्यान्न र लत्ताकपडा वितरण गरेका थिए । उनले आफूमा डर भए पनि मानिसहरुलाई संकट परेको बेला आफ्नो वास्ता नगरेको बताए ।
लायन्स क्लवका साथै विभिन्न सामाजिक संस्थामा सक्रिय रहेर काम गर्दै आएका उनले राजनीतिसँगै समाजसेवीको रुपमा पनि आफ्नो पहिचान बनाएका छन् । ‘सकेसम्म समाजलाई केही दिउँ भन्ने हो, गफ गरेर मात्र राजनीति टिक्दैन भन्ने बुझेको छु’ उनले भने ‘जबसम्म हाम्रो राजनीतिबाट समाजले केही पाएको महसुश गर्दैन तबसम्म फोस्रो र आदर्शका कुराले मात्र राजनीति सम्भव छैन ।’