काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको पाँचदलीय गठबन्धनको सरकारलाई देश बनाउनेभन्दा पनि एमालेले चुनावमा उछिन्ने चिन्ताले सताएको बताएका छन् । शुक्रबार एमाले काठमाडौंको अधिवेशनलाई सम्बोधन गर्दैउनले यस्तो बताएका हुन् ।
उनले भने, ‘यो पञ्चमुखी सरकार छ । पाँचतिर टाउका फर्किएका दलहरू मिलेर बनेको, आफ्ना–आफ्ना स्वार्थ बोकेको, देश र जनताभन्दा एमालेले सिध्याउला, उछिन्ला भन्ने डरले देश र जनताको नाम लिनुपरेको छ । तर, जनतालाई थाहा छ– नेकपा एमालेविना यो देश बन्दैन।’
देशको परिस्थिति अत्यन्त भयावह ढंगले प्रतिगमनको बाटोमा अघि बढेको दाबी गर्दै ओलीले अहिलेको सरकारको ध्यान देश विकासभन्दा पनि मन्त्रालय र सरकारी निकायबीच सेटिङ मिलाएर भ्रष्टाचार गर्ने र एमालेलाई सत्तोसराप गर्नमै केन्द्रित रहेको आरोप लगाए ।
‘देशको राजनीति प्रतिगमनको बाटोमा गइरहेको छ । बैंकहरूमा पैसा छैन, पूर्वाधार विकासका आयोजना अलपत्र परेका छन् । अहिलेको सत्तागठबन्धन अरू होइन, जम्माजम्मी एमालेलाई सरापेर बसेको छ,’ ओलीले भने, ‘सरकारमा गएपछि त देश बनाउनुपर्ने हो । विकास गर्नुपर्ने हो । तर, त्यता ध्यान छैन ।’
ओलीले सरकार काममा होइन, नियुक्त र निष्कासनमा लागेको पनि आरोप लगाए । ‘सरकारमा रहेकाहरू काठमाडौंमा मेलम्चीको पानी पाइपबाट झार्ने होइन, मन्त्रालयपिच्छे, निकायपिच्छे पाइप फिट गरेर आम्दानी कहाँ झार्ने भन्ने ध्यानमा छन्,’ ओलीले भने, ‘मान्छे नियुक्त गर्ने र निष्कासन गर्नेमा ध्यान छ । प्रधानमन्त्री जानुअघि बेलायतको राजदूत निकाले, अहिले १२ देशमा राजदूत छैनन्, सरकार ढुक्क छ ।’