काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटकीय राजधानी पोखराको विकासका लागि सदैव लागिरहने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
उनले आइतबार पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आयोजित सभालाई सम्बोधन गर्दै पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत शहरको रूपमा विकास गर्न सरकारले उच्च प्राथमिकता दिने विश्वास दिलाए।
‘पोखराको विकास निर्माणमा विद्यमान तथा सम्भावित समस्या समाधानका लागि समेत यथोचित पहल तथा समन्वय गरिनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘पर्यटकीय राजधानीको सुदृढ पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय विकास साझेदारहरूबाट आवश्यक साझेदारी र सहयोग प्राप्त गर्न तथा निजी क्षेत्रका लगानीकर्ताहरूबाट आकर्षित गर्न सरकारले आवश्यक पहल गर्नेछ।’


