काठमाडौं बागमती प्रदेश खेलकुद विकास परिषद्ले विभिन्न चारवटा राष्ट्रिय खेलकुद संघसँग प्रशिक्षक तालिम सञ्चालनका लागि सम्झौता गरेको छ ।
प्रदेशले नेपाल ब्याडमिन्टन, नेपाल एथलेटिक्स, नेपाल रग्बी र नेपाल आइटिएफ तेक्वान्दो संघसँग सम्झौता गरेको हो ।
बागमती खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, रग्बी संघका अध्यक्ष टंकलाल घिसिङ, तेक्वान्दोका अध्यक्ष अन्जन धमला र एथलेटिक्स संघका तर्फबाट राखेपका वरिष्ठ एथलेटिक्स प्रशिक्षक चन्द्र गुरुङसँग बुधबार सम्झौतपत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार एथलेटिक्सको प्रशिक्षक तालिम त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यही ९ देखि १३ असोजसम्म हुनेछ । आइटिएफ तेक्वान्दोको तालिम १६ र १७ असोजमा रामेछापमा हुनेछ भने रग्बीको १९ र २० असोजमा चितवनमा हुनेछ । यस्तै आगामी ५ र ६ कात्तिकमा ब्याडमिन्टनको तालिम राष्ट्रिय खेलकुद परिषद्को (राखेप) कभर्डहलमा हुनेछ ।