काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुद्धमा भौतिक र द्वन्द्ववादी दुवै गुण भएको बताएका छन् ।
उनले शुक्रबार २५६७औं बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा आयोजित विशेष कार्यक्रममा यस्तो बताएका हुन् । उनले वर्गीय समाज र दुःखको सार्वभौम चरित्रको वस्तुगत धरातलमा उभिएर बुद्धले भिक्षु संघको परिकल्पना र अभ्यास गरेको उनले बताए ।
‘आजभन्दा २५६७ वर्ष पहिला नेपालको लुम्बिनीमा जन्मिनुभएका बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभरि नै अद्वितीय रहीआएको छ । बुद्ध भौतिकवादी र द्वन्द्ववादी दुबै हुनुहुन्थ्यो, वर्गीय समाज र दुःखको सार्वभौम चरित्रको वस्तुगत धरातलमा उभिएर उहाँले भिक्षु संघको परिकल्पना र अभ्यास दुबै गर्नुभयो,’ बुद्धलाई स्मरण गर्दै प्रधानमन्त्रीले भने, ‘दर्शनको क्षेत्रमा मात्र नभएर चिन्तन र समाज विज्ञानको क्षेत्रमा उहाँको योगदान विश्वव्यापी रूपमा सर्वमान्य छ । तसर्थ, पूर्वीय दर्शन र सभ्यताको पछिल्लो युगमा बुद्ध सबैभन्दा प्रख्यात र मान्य व्यक्तित्व हुनुभयो ।’


