काठमाडौं। भारतीय राजदूतावास काठमाडौंले यही चैत्र १० गते इन्डिया हाउस परिसरमा एक समारोहको आयोजना गरी ५८औं भारतीय प्रविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाएके छ ।
उक्त कार्यक्रममा वरिष्ठ सरकारी अधिकारी, आइटेकका अलम्नाई (भूतपूर्व विद्यार्थी) र भारतका शैक्षिक संस्थामा अध्ययन गरेका प्रमुख पूर्वविद्यार्थी गरी ५०० भन्दा बढीको उपस्थिति थियो ।
समारोहमा बोल्दै नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्तवले भारतले हासिल गरेको विकाससम्बन्धी अनुभव एवम् विशेषज्ञता नेपाललगायत १६० भन्दा धेरै देशका दुई लाखभन्दा बढी सरकारी अधिकारी, व्यवसायी तथा उद्यमीहरू माझ पुर्याउन आइटेक कार्यक्रमले स्थापनाकालदेखि खेल्दै आएको भूमिकाको चर्चा गरे ।
साथै राजदूत श्रीवास्तवले भारतले यो वर्ष नेपालका लागि रेलमार्ग लगायतका विषयमा नयाँ कोर्षको सुरुवात गर्नेबारे विचार भइरहेको बताए ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव श्री दिनेश घिमिरे, सहायक रथी पूर्णबहादुर खत्री, संघीय संसद् सचिवालयका सचिव श्री रोजनाथ पाण्डे र नेपाली सेनाका सेनानी रेश्मा केसी लगायतका आइटेक अलम्नाइहरूले भारतमा रहँदाका दिनहरूको सम्झना गरे ।


