- काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई सास्ती नदिन कडा निर्देशन दिएका छन्।
उनले आज उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित सम्बन्धित मन्त्रालयका सचिवहरूसँगको छलफलमा त्यस्तो निर्देशन दिएका हुन्।
छलफलमा प्रधानमन्त्री प्रचण्डले भिजिट भिसा र श्रम स्वीकृति लिएकाहरूलाई विमानस्थलमा सास्ती दिने गरेको गुनासो आएको उल्लेख गर्दै तत्काल सहज वातावरण सिर्जना गर्न आग्रह गरे।
प्रधानमन्त्री प्रचण्डले भने, ‘भिजिट भिसामा जानेलाई कागज पुगेन भनेर भिजिट भिसामा घुम्न जानेहरूका सम्बन्धमा अध्यागमन कार्यविधिअनुसार गर्नु–गराउनु होला। जनतालाई हैरानी दिने काम बन्द गर्नुहोला।’


