काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डेढ करोडभन्दा बढी रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा नेपाल टेलिकमका प्राविधिक अधिकृत निर्मलप्रसाद सिटौलाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।
उनले कार्यालयमा हाजिर गर्नुका साथै छुट्टै निर्माण कम्पनीमा समेत काम गरेर व्यापार व्यवसाय गरेको तथा सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाको ठेक्का लिएर प्रतिनिधिको रुपमा हस्ताक्षरसमेत गरी एक करोड ६१ लाख २० हजार ४०० रुपैयाँ भ्रष्टाचार गरेको भन्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अनुसन्धानका क्रममा नेपाल टेलिकमको विनास्वीकृति निजी कम्पनीको शेयर खरिद गरी संस्थापक शेयरधनी बनेर कम्पनीमा निर्देशकको हैसियतमा आर्थिक वर्ष २०६९०७० देखि काम गरिरहेको, पारिश्रमिकवापत रकम बुझेको भेटिएको आयोगका प्रवक्ता सहसचिव नरहरि घिमिरेले जानकारी दिए ।
