काठमाडौं । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले छिट्टै नयाँ न्यायाधीश नियुक्त हुने बताएका छन्।
उनले आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अहिलेसम्म न्यायाधीश नियुक्त भइसक्नुपर्नेमा ढिलाइ भएको स्वीकारे। तर अब छिट्टै तीनै तहका अदालतमा रिक्त न्यायाधीशको दरबन्दी पूर्ति हुनेगरी नियुक्ति हुने बताए।
उच्च अदालतमा ६० जना न्यायाधीशको पद खाली हुँदैछ। यस्तै, सर्वोच्च अदालतमा ७ जना न्यायाधीशको पद खाली हुँदैछ।
‘पद रिक्त हुनु अगाडि नै न्यायाधीश नियुक्तिका लागि सिफारिस भइसक्नुपर्ने हो, तर हुन सकेको छैन। यसमा ढिलाइ नै भएको हो। अझै पनि समय छ। न्यायाधीश नियुक्तिमा प्रयासरत छु,’ कार्कीले भने।


