काठमाडौं । अर्थ मन्त्रालयले भन्सार विभाग र आन्तरिक राजस्व विभागको महानिर्देशक परिवर्तन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले ढुण्डीराज निरौलालाई भन्सार र शिवलाल तिवारीलाई अन्तरिक राजस्व विभागको महानिर्देशक बनाएका हुन् ।
अर्थ मन्त्रालयमा अन्य सहसचिवको समेत जिम्मेवारी हेरफेर भएको छ। भन्सार विभागका शोभाकान्त पौडेललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको प्रमुखको जिम्मेवारी दिइएको छ।
तालिम केन्द्रका राम प्रसाद आचार्यलाई मन्त्रालय तानिएको छ। राजस्व व्यवस्थापन महाशाखा प्रमुख रहेका रितेश कुमार शाक्यलाई बजेट तथा कार्यक्रम महाशाखाको जिम्मेवारी दिइएको छ।
राजस्व महाशाखामा धनिराम शर्मा ल्याइएको छ। त्यस्तै उत्तर कुमार खत्रीलाई योजना, अनुगमन शाखामा सारिएको छ।


