काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक सूचकहरू क्रमशः सुदृढ हुँदै गएको बताएका छन् ।
उनले विहीबार राष्ट्र बैंकको ६८औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा तरलताको अवस्थामा पनि क्रमिक सुधार र ब्याजदर माथिको दबाब पनि कम हुँदै गएको बताए ।
अधिकारीले शोधनान्तर स्थिति बचतमा रहन थालेकाले अघिल्लो वर्षको तुलनामा अर्थतन्त्रको बाह्य क्षेत्र लगायत तरलतामा पनि सुधार आएको बताए । उनले मुद्रास्फीति घट्दो क्रममा रहेको र आयात घट्दा सरकारी वित्तमा भने केही दबाब परेको जानकारी दिए । केही बैंकहरूले ब्याजदर घटाउन थालेकाले आन्तरिक आर्थिक गतिविधिहरू सुधार हुँदै जाने देखिएको उनको भनाइ छ ।


