काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालालाई गणतन्त्रको पहिलो राष्ट्रपतिमा प्रस्ताव नगरेकोमा आफूलाई पश्चात्ताप रहेको बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका उनले सोमबार कोइरालाको एकसयौँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
प्रचण्डले पहिलो पटकको भेटदेखि अन्तिम भेट हुँदासम्म कुनै द्विधा, अविश्वास, शङ्का या आशङ्का नदेखेको भन्दै बरु आफूले गल्ती गरेको तर कोइरालाले गल्ती नगरेको बताए । ‘बरु मैले गल्ती गरेँ, गिरिजाबाबुले विल्कुल गल्ती गर्नुभएन’, शान्ति सम्झौता लगायतका राजनीतिक घटनाक्रमलाई स्मरण गर्दै प्रचण्डले भने, ‘मैले उहाँसँग गरेका प्रतिबद्धता सबै जस्ताको तस्तै पुरा गर्न कतिपय सन्दर्भमा सकिनँ ।’ उनले कोइरालाको चाहनाविपरीत कतिपय निर्णय गर्दा पनि विश्वास गर्न नछोडेको भन्दै कोइराला नभएको भए गणतन्त्र आउन नसक्ने पनि बताए ।


