काठमाडौं । चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु आगामी भदौ २७ देखि ३० सम्म नेपालको चार दिने भ्रमणमा आउने भएका छन् ।
उनी सभामुख अग्नि सापकोटाको निमन्त्रणामा नेपाल आउन लागेका हुन् । चान्सु चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) मा तेस्रो र चीनको संविधानअनुसार राज्य सत्ताको भूमिकामा दोस्रो वरियताका हुन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार दुवै देशका तर्फबाट उनको भ्रमणको औपचारिक घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । ‘भ्रमणको अवधि र मितिका विषयमा केही कुरा टुंगिन बाँकी रहेको हुँदा सार्वजनिक भइसकेको छैन । अब २७ भदौदेखि सुरु हुने र चार दिनको अवधि हुने भन्ने निश्चित जस्तै भएको छ । अब छिट्टै सार्वजनिक हुन्छ,’ स्रोतले भन्यो ।
उनको भ्रमणका लागि परराष्ट्र मन्त्रालय र संघीय संसद सचिवालयले तयारीलाई तीव्र बनाएका छन् । भ्रमणका क्रममा समकक्षीका हिसाबले सभामुख सापकोटासँग द्विपक्षीय भेटवार्ता हुनेछ भने राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता हुनेछ । पछिल्लो केही समयदेखि नेपालमा चिनियाँ उच्चस्तरका नेताहरुको भ्रमण बाँक्लिदै गएको छ


