बाह्रबिसे । हिजो राती जाजरकोट केन्द्रबिन्दु बनाएर गएको शक्तिशाली भुकम्पका पीडितलाई सिन्धुपाल्चोक जिल्लाका ३ वटा स्थानीय तहले ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको सल्लाह र मानवीय भावानाले यस्तो निर्णय गरेको भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पाले जानकारी दिए ।
सबैभन्दा धेरै रकम बाह्रबिसे नगरपालिकाले सहयोग गर्ने भएको छ । बाह्रबिसेले १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख बालकृष्ण बस्नेतले जानकारी दिए ।उनले प्राकृतिक विपत्तिको बेला एक नेपालीले अर्को नेपालीको घाउमा मलम लगाउनु पर्छ भन्ने भावनाले सहयोग गर्ने निर्णय गरेको बस्नेतले बताए । यसैगरी भोटेकोशी गाउँपालिकाले पनि पीडिललाई १० लाख रुपैयाँ दिने भएको छ । गाउँपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पाले पीडितलाई सहयोग गर्नु कर्तब्य भएको बताए । यस्तै त्रिपुरासुन्दरी गाउँपालिकाले पनि १० लाख रुपैयाँ सहयोग पठाउने भएको छ । त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्जज बोहोराले भूकम्प पिडितहरुलाई हामी सबै तपाईको साथमा छौं भन्ने महसुस गराउन यस्तो गर्ने निर्णय गरेको बताए ।
भूकम्पमा परि अहिलेसम्म १४३ जनाको मृत्यु भइसकेको छ भने १९६ भन्दा बढी घाइते भएका छन् ।


