काठमाडौं । जेठ १७ गतेदेखि ललितपुरको जावलाखेल खेल मैदानमा प्रथम ललितपुर जुत्ता चप्पल ब्यापार मेला २०८० संचालन हुने भएको छ ।
मेलाका बारेमा जानकारी दिन आइतबार आयोजना गरिएको पत्रकार सम्मेलन आयोजकले यस्तो बताएको हो । ‘नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आयोजना गरिएको उक्त मेलामा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको आयोजकले बताए ।
मेला ज्येष्ठ १७ गतेदेखि असार १७ गते एक महिनासम्म सञ्चालनमा आउने मेलाका संयोजक दिवाकर गिरीले बताए । उनले आम जनतालाई स्वदेशी वस्तुको प्रयोग गर्ने भावनाको विकास गराउने उदेश्यले मेलाको आयोजना गर्न लागिएको बताए ।
मेलामा नेपालमा नै उत्पादित चर्चित ९ वटा कम्पनी तथा ब्राण्डका जुत्ता चप्पल खरिद गर्न पाइने छ । मेलामा ३ हजार भन्दा बढीका मेडल र डिजाइनका जुत्ता चप्पल उपलब्ध हुने छन् । मेलामा २० देखि ५० प्रतिशतसम्म विशेष छुटको समेत व्यवस्था गरिएको आयोजकले बताएको छ ।
मेला अवधिमा ३ लाखलाई मेलाको अवलोकन गराउने र ५ करोड बराबरको कारोबार गराउने लक्ष्य राखेको छ ।


