काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ब्यवसायीलाई दिन बाँकी रहेको बक्यौता तत्कालै भुक्तानी गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
उनले शुक्रबार हेटौंडामा नेपाल निर्माण व्यवसायी महासंघको २५ औं साधारणसभालाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।
‘राज्यको सीमा र कमजोरीका कारण व्यवसायीले भोग्नुपरेका अप्ठ्यारा र कठिनाइहरूप्रति सरकार गम्भीर छ,’ प्रधानमन्त्री प्रचण्डले भने,‘तर, निर्माण व्यवसायीहरूले सम्झौताबमोजिम काम नगर्दा आयोजनाको काम समयमै सम्पन्न नभएको, सम्झौताअनुरूप गुणस्तरको काम नभएको, निर्माणको अवधि लम्बिँदा राज्यको अतिरिक्त दायित्व थपिनेजस्ता समस्याहरू पनि गम्भीर छन् ।’