काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल प्रहरीले हरेक क्रान्तिपछिको बदलिएको राजनीतिक परिवेश अनुसार परिवर्तनलाई अँगाल्न सक्ने क्षमता प्रदर्शन गरेकामा आफूलाई गौरवको महसुस भएको बताएका छन् ।
उनले मंगलबार ६८ औँ प्रहरी दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रहरीको छविमाथि प्रश्न उठ्ने कुनै पनि प्रकारका अवान्छित गतिविधि र गलत क्रियाकलाप नियन्त्रण गर्न प्रहरी नेतृत्व पूर्णतः सक्षम रहने विश्वास व्यक्त गरे ।उनले नेपालको संविधान बमोजिम, नेपाल प्रहरीले संघीय संरचनामा जान रूपान्तरणको तयारी गरेको कार्यहरू समेत महत्वपूर्ण रहेको उल्लेख गर्दै भविष्यमा संघीय संरचनामा आउन सक्ने अवसर, चुनौती र संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाल प्रहरीले सबै प्रदेशहरूमा प्रदेश प्रहरी कार्यालयहरूसँग सहज, सुमधुर र प्रभावकारी सुपरीवेक्षण र समन्वयको कार्य गर्नुपर्ने बताए ।


