काठमाडौं । आज नेपाल पत्रकार महासंघको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रतिनिधिसभाको ५ वर्षे कार्यकाल सकिनै लाग्दासमेत सञ्चारसम्बन्धी विभिन्न कानुनहरू टुंगोमा पुग्न नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराएको छ।
मिडिया काउन्सिल विधेयकलगायत सञ्चारसम्बन्धी विभिन्न कानुनहरू चालू अधिवेशनमा नै टुंगोमा पु¥याउन पहल गर्न प्रधानमन्त्री देउवालाई महासंघको प्रतिनिधिमण्डले आज आग्रह गरेको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा हाल मस्यौदाका रूपमा विचाराधीन अवस्थामा रहेका सञ्चारसम्बन्धी ती कानुनहरू प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री हुनुपर्नेमा पनि महासंघले जोड दिएको छ।
अहिले सञ्चारसम्बन्धी कानुन नहुँदा विद्युतीय कारोबार ऐनलगायतका विभिन्न कानुनहरू आकर्षित गरी पत्रकारलाई दुःख दिने काम गरिएकोप्रति महासंघले चिन्ता प्रकट गरेको बताएको छ।
भेटघाटका क्रममा प्रधानमन्त्री देउवाले महासंघले उठाएका र राखेका मागहरूलाई सकारात्मक रूपमा लिई तत्काल टुंगोमा पुर्याउनका लागि पहल गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई फोनमार्फत निर्देशन दिएका थिए ।


