काठमाडौं । न्यून मूल्यांकन गरेर राजस्व छली गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले रुट्स फेसन प्रालिविरुद्ध ४ करोड ३७ लाख मागदाबीसहित उच्च अदालत पाटनमा आइतबार मुद्दा दायर गरेको छ ।
विभागका सूचना अधिकारी तथा अनुसन्धान अधिकृत नवराज अधिकारीले राजस्व चुहावट तथा नियन्त्रण ऐन २०५२ अनुसार रुट्सका सञ्चालकहरु संजीव तुलाधर, देवेन्द्रप्रसाद श्रेष्ठ, सुनील महर्जन र प्रकाशरत्न कंशाकारसमेतलाई विपक्षी बनाइ मुद्दा दायर गरिएको बताए ।
उनीहरुविरुद्ध लगाइएको अभियोगमा सामान आयात गर्दा सरकारलाई नियमअनुसार भन्सार महसुल, मूल्य अभिवृद्धि कर(भ्याट) नबुझाएको उल्लेख छ । विभागले आयातित सामानको बिगो २ करोड १८ लाख ५२ हजार ७ सय ७० कायम गरी सोही रकमको सतप्रतिशत जरिवानासमेत ४ करोड ३७ लाखको माग दाबी गरेको हो ।


