काठमाडौं । आज बिहान ९ बजेबाट राष्ट्रिय सभा निर्वाचनको मतदान सुरु भएको छ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ७ वटै प्रदेशमा १–१ मतदान स्थल र २–२ मतदान केन्द्र कायम गरिएको छ।
२०७४ फागुनमा निर्वाचित राष्ट्रिय सभा सदस्यको पदावधि आगामी फागुन २० गते सकिन लाग्दा अर्को ६ वर्षे पदावधिका लागि १९ जना सदस्यको निर्वाचन हुन लागेको हो। अर्का १ जना सदस्य भने राष्ट्रपतिबाट मनोनित हुनेछन्।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ७ वटै प्रदेशमा विभिन्न राजनीतिक दलका ५१ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन्। सत्तारुढ गठबन्धनका दलहरुले सहमतिमा उम्मेदवारी दिएका छन्। जसअनुसार नेपाली कांग्रेसका १०, नेकपा माओवादी केन्द्रका ६, नेकपा एकीकृत समाजवादीका २ र जनता समाजवादी पार्टीका १ जना उम्मेदवार छन्।
संघीय संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १९ वटै पदमा उम्मेदवारी दिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका ७, जनमत पार्टीका २ र नेपाल मजदुर किसान पार्टीका ४ जना उम्मेदवार छन्।
राष्ट्रिय सभा सदस्य निर्वाचित गर्न प्रदेश सभाका सदस्य, पालिकाका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षले मतदान गर्नेछन्। प्रदेश सभा सदस्यतर्फ ७ वटै प्रदेशमा ५४९ जना मतदाता छन्।
यस्तै, पालिकातर्फ १ हजार ४९८ जना मतदाता छन्। कुल २ हजार ४७ जना मतदाताले मतदान गर्नेछन्।


