तातोपानी । भोटेकोशी गाउँपालिका २ मा रहेको तातोपानी आधारभूत विद्यालयमा स्थापना गरिएको सरस्वती मन्दिरको एक कार्यक्रमका बीच अनावरण गरिएको छ । वडा नम्बर २ वडा अध्यक्ष कुमार श्रेष्ठले मन्दिरको अनावरण गरेका हुन् ।

वडा कार्यालयको सहयोगमा करिब २ लाख लागतमा मन्दिर बनेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । मन्दिर स्थापनाको लागि विद्यालयले लामो समयदेखि माग गर्दै आएको थियो । वडा अध्यक्ष श्रेष्ठले यसलाई विशेष प्राथमिकतामा राखेर काम सम्पन्न गरेको विद्यालयका प्रध्यानाध्यापक कृष्णप्रसाद नेपालले बताए । यसका साथै धुलाम्मे रहेको खेलमैदानलाई स्तरोन्नति गरिनुका साथै बजारबाट विद्यालयसम्म जाने सिँढी मर्मत गरेर सजिलो बनाइएको छ ।

आइतबार नै अभिभावकहरुको उपस्थितिमा वडा अध्यक्षले विद्यार्थीहरुलाई छात्रवृत्ति रकम पनि वितरण गरेका थिए ।जम्मा १६३ विद्यार्थी अध्ययनरत यस विद्यालयमा ७५ जनाले छात्रवृत्ति प्राप्त गरेका थिए ।
यसैबीच अध्यक्ष श्रेष्ठकै सक्रियतामा होडवान्जी बौद्ध समाजको अध्यक्ष सोनाम वाङदी भुटियाको पहलकदमीमा जीर्ण अवस्थामा रहेको कोदारी माविको दुई वटा दुई दुई कोठे भवनको निर्माण कार्यसमेत भइरहेको छ । उनकै पहलमा वडामा रहेका सवै शिक्षकहरुलाई अभिमुखिकरण तालिम समेत प्रदान गरिसकिएको छ ।


