काठमाडौं । एकीकृत सरकारी कर्मचारी संगठनको दोश्रो केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएको छ ।
गत भदौ १५ र १६ गते दुई दिनसम्म खरिपाटीमा बसेको संगठनको दोस्रो केन्द्रीय कार्य समितिको बैठकले उक्त प्रस्ताव पारित गरेको संगठनले जनाएको छ । संगठनले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराएको हो ।
कर्मचारी संगठनका भीडमा आफूलाई पृथक रुपमा उभ्याउने प्रयास गर्दै आएको संगठनले प्रत्येक शुक्रवार कर्मचारी मैत्री नागरिक मैत्री संघीय निजामती ऐन जारी गराउन दबाब अभियान सञ्चालन गर्ने भएको छ । संगठनले शुक्रबार संघीय निजामती ऐन जारी गर भन्दै संगठनका हरेक कर्मचारीहरूले आफ्नै कार्यकक्षमा नारा लगाउने महासचिव प्रकाश राईले बताए ।
यस अघि नै साउन १४ गते संगठनले सरुवा प्रणालीलाई वैज्ञानिक तथा स्वचालित र पूर्ण अनुमानयोग्य कसरी बनाउन सकिन्छ भन्ने विचार विमर्स गरेको जनाउँदै निजामती सेवा ऐनको कार्यन्वयन प्रचलनमा ल्याउन दबाब र बौद्धिक विमर्स जारी राख्ने संगठनले जनाएको छ ।


