काठमाडौं । बहुचर्चित ६१ किलो सुन तस्करी प्रकरणबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युुरो (सीआईबी) आज आफ्नो अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार हुँदै बाहिरिएको ब्रेक–सु सहितको सुन गत साउन ३ गते राजश्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट बरामद गरेको थियो । सुरुमा ब्रेक सुसहितको तौल १५५ किलो भए पनि त्यसबाट सुनमात्र निकालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको थियो ।
सुरुका १८ दिनसम्म राजश्व अनुसन्धान विभागले सुन तस्करी प्रकरणको अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा सुन तस्करीमा संगठित गिरोह संलग्न भएको पाइएपछि थप अनुसन्धानको जिम्मा सीआईबीलाई दिइएको थियो ।
सुन तस्करीमा संलग्न भएको भन्दै प्रहरीले भन्सार कार्यालयका कर्मचारी, पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल तथा केही चिनियाँ र भारतीय नागरिकहरुलाई पक्राउ गरेको छ ।


