काठमाडौं । गैरकानुनी रुपमा ४ करोड ४७ लाख ३४ हजार २१२ सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय, वीरगञ्जका पूर्ववरिष्ठ निरीक्षक शशिभूषण कुमार यादवविरुद्ध मुद्दा दायर गरेको छ ।
यादवले सार्वजनिक सेवा प्रवेश गरेको मिति २०४६ जेठ ८ गते देखि २०७९ साल असार मसान्त अर्थात ३३ बर्ष सम्मको अवधिमा ७ करोड २४ लाख ५६ हजार २६३ रुपैयाँ आर्जन गरेका थिए । जस मध्ये ४ करोड ४७ लाख रुपैयाँको स्रोत देखाउन सकेका छैनन् । यादवले नोकरी अवधिभर विभिन्न कार्यालयमा कार्यरत रहँदा आफ्नो परिवारको नाममा जग्गा जमिन खरिद गरी गैररकानूनी रूपमा अकुत सम्पत्ति आर्जन गरेको खुलेको हो ।
पदमा रहँदाका बखत गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिबाट श्रीमती रिता रानी, छोराद्वय विकास यादव र अविनास यादवको नाममा खरिद गरिएका जग्गा, घर निर्माण र बैंक मौज्दात गरेका छन् । यादवको नाममा खरिद गरिएका जग्गा, घर निर्माण र बैंक मौज्दातको स्रोत नखुलेको सम्पत्ति र त्यसबाट बढेरबढाएको सम्पत्तिको जफत गर्न मागदाबी गरेको छ ।
अख्तियारले उनको पत्नी रिता रानी र छोराहरू अविनास यादव र विकास यादवलाई पनि प्रतिवादी कायम गरी मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जनाएका छन् ।


