काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनीविरुद्ध भ्रष्टाचारको दोस्रो मुद्दा दायर गरेको छ । उनलाई विद्यालय भवन निर्माणमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।
विद्यालय निर्माण भएको कामभन्दा बढी भुक्तानी दिएको आरोपमा अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी तथा भवन निर्माण समितिका अध्यक्ष रामबाबुप्रसाद यादव, सचिव रामाकान्त प्रसाद र कोषाध्यक्ष किरणदेवी यादवविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो।
मधेश प्रदेश सरकारको अनुदानबाट सञ्चालित योजनाहरूमध्ये नगरपालिकाको वडा नं। ८ कचोर्वास्थित जनता माविको भवन निर्माण कार्यमा अनियमितता भएको अख्तियारको दाबी छ।
अख्तियारले निर्माण कार्यमा भए–गरेको परिमाणभन्दा ६ लाख ५८ हजार चार सय ४० रुपैयाँ बढी भुक्तानी दिएर सरकारी रकम हानिनोक्सानी गरेको दाबी गरेको छ।
भवन निर्माणमा हिनामिना गरेर उनीहरूले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेको अभियोग अख्तियारको छ। हिनामिना गरेकै रकमलाई बिगो कायम गरेर अख्तियारले मरासेनी र चौधरीविरुद्ध मुद्दा दायर गरेको छ।
