काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। कार्यालय प्रमुख रिमालविरुद्ध आयोगले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
आर्थिक वर्ष २०७८र०७९ मा सोरु गाउँपालिका–५ मा सिँचाइ आयोजनामा निर्माण उपभोक्ता समितिका पदाधिकारीहरु समेतको मिलेमतोमा आयोजनाको रकम हिनामिना गरेको उनीमाथि आरोप छ।
सो सम्बन्धमा अनुसन्धान हुँदा रिमालले सोरु गाउँपालिका वडा नं. ५ स्थित नेर सिँचाइ आयोजनाको पाइपलाइनको कार्य १७०० मिटर हुनुपर्नेमा ८१२.५ मिटर मात्र भई ८८७.५ मिटर फिल्डमा कम भएको कामलाई पनि झुट्टा नापी किताब, पहिलो र दोस्रो बिल स्वीकृत गरी ५ लाख ६१ हजार ४८१ रुपैयाँ ९५ पैसा बढी भुक्तानी गरी उपभोक्ता समितिलाई गैरकानूनी लाभ र सरकारलाई हानिनोक्सानी पुर्याएको अख्तियारको ठहर छ।
