काठमाडौं । विशेष अदालतले सडक डिभिजन कार्यालय मोरङका तत्कालीन प्रमुख (सिडिई) जितेन्द्रकुमार चौधरीलाई अकुत सम्पत्ति आर्जनमा दोषी ठहर गरेको छ ।
चौधरीले झन्डै चार करोड रुपैयाँ गैरकानुनी आर्जन गरेको अख्तियारको दाबी थियो। चौधरीकी श्रीमती किरण चौधरी छोरा अभिषेक चौधरीलाई पनि यस मुद्दामा प्रतिवादी बनाइएको थियो। उनले विराटनगरको डिभिजन प्रमुख हुँदा एक ठेकेदार कम्पनीसँग कमिसनबापतको रकम श्रीमतीको खातामा जम्मा गर्न लगाएका थिए। सेवाग्राही कम्पनीहरूबाट आयोजनाका लागि स्वीकृत रकमको निश्चित प्रतिशत रकम गैरकानुनी तवरले सिडिई चौधरीले लिएको खुलेको थियो।
विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई दोषी ठहर गरेको हो । सजाय निर्धारणका लागि १५ माघको पेसी तोकिएको छ।


