काठमाडौं । साताको दोस्रो कारोबार सोमबार सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से १२।५८ अंकले घटेको हो ।
नेपाल राष्ट्र बैंकले सेयर कर्जाको सीमा बढाएपछिको पहिलो कारोबार दिन आइतबार नेप्सेमा उच्च गिरावट आएको थियो । यसलाई राष्ट्र बैंकको पछिल्लो नीतिगत संशोधनलाई लगानीकर्ताले सकारात्मक रूपमा नलिएको रूपमा विश्लेषण गरिएको छ । पछिल्ला महिनामा सेयर बजार बढ्न नसक्नुको प्रमुख कारकका रुपमा हेरिएको सेयर कर्जाको सीमा नेपाल राष्ट्र बैंकले गत बिहीबार बढाएर व्यक्तिका लागि १५ करोड र संस्थाका लागि २० करोड बनाएको छ ।
यसअघि यस्तो सीमा व्यक्ति र संस्था सबैका लागि १२ करोड रुपैयाँ थियो । उक्त सीमा बढेसँगै सेयर बजारमा सुधार आउने अपेक्षाविपरीत आइतबार र सोमबार नेप्से उच्च अंकले घटेको लगानीकर्ताको दाबी छ ।


