काठमाडौं । आज बिहान १० बजे प्रतिनिधि सभाको बैठक बस्ने भएको छ ।
संसद् सचिवालयका अनुसार आजको सम्भावित कार्यसूचीमा विनियोजन विधेयक, २०८० बारे जारी छलफलअन्तर्गत उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमा छलफल गरिनेछ। यस्तै सांसदद्वय डा. अमरेशकुमार सिंह भगवती चौधरीले ‘विनियोजन विधेयक, २०८० अन्तर्गत उपराष्ट्रपतिको कार्यालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्’ भनी प्रस्ताव राख्नेछन् भने प्रतिनिधिसभा सदस्य प्रेम सुवालले ‘विनियोजन विधेयक, २०८० अर्न्तगत उपराष्ट्रपतिको कार्यालय शीर्षकको खर्च रकममा उल्लिखित खर्च रकम घटाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
यसपछि विनियोजन विधेयकप्रति खलफलमा उठेका प्रश्नका जवाफ सम्बन्धित मन्त्रीले दिने सम्भावित कार्यसूची छ। जसअनुसार गृह मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका मन्त्रीले जवाफ दिने कार्यक्रम छ।


