काठमाडौं । संघबाट प्रदेशमा समायोजन भएका र प्रदेश लोकसेवा आयोगबाट सिफारिस भएका निजामती कर्मचारीको अब प्रदेशमै ब्यक्तिगत अभिलेख राखिने भएको छ । यस विषयमा बुधबार वागमती प्रदेश सरकार र राष्ट्रीय किताबखानाबीच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा यस्तो समझदारी भएको हो ।
संघीयता कार्यान्वयन तथा कर्मचारी समायोजनको महत्वपूर्ण विषयका रुपमा थाती रहेको प्रदेश किताबखानाको अवधारणाले अब मूर्त रुप पाएको छ । यससँगै ब्यक्तिगत विवरण राख्न नसकिएका हजारौं कर्मचारीको विवरण अपडेट हुने भएको हो । उक्त समोदारीपत्र आदान प्रदान कार्यक्रममा बोल्दै सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले प्रदेशमा रहेका तथा स्थानीइ तहमा खटिएका कर्मचारीको ब्यक्तिगत विवरण प्रदेशले राख्ने व्यवस्थाले संघीयता कार्यान्वयनको एक चरण पुरा भएको बताए । उनले कर्मचारी व्यवस्थापनका बाँकी काम क्रमशः पुरा गर्दै जाने बताए ।
वागमती प्रदेश सरकारका प्रमुख सचिव मुकुन्द निरौलाले प्रदेश पिआइएस प्रभावकारी ढंगले राखिने र अन्य प्रदेशलाइ समेत उदाहरणीय कार्य गरेर देखाउने प्रतिवद्धता व्यक्त गरे । समझदारीपत्रमा किताबखानाका महानिर्देशक डा. टोकराज पाण्डे र प्रदेश सचिव निश्चलराज पाण्डेले हस्ताक्षर गरेका थिए ।
हाल निजामती सेवामा झण्डै ९० हजार कर्मचारी कार्यरत रहेका छन । जसमध्ये प्रदेश र स्थानीय तहमा समायोजन भएका तथा पछि पदपूर्ती भएका झण्डै २५ हजार कर्मचारी रहेका छन ।


