काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा कर्मचारीको तलब नबढाउने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संसदमा प्रस्तुत गरेको बजेटमा अन्य भत्तालाई खारेज गरेर पोसाक भत्ता, महँगी भत्ता र फिल्ड भत्ता तथा वैदेशिक भत्ता भने कायम राखिएको छ ।
बजेट सार्वजनिक गर्दै अर्थमन्त्री प्रकाशरण महतले भने, “स्रोतमा परेको चापलाई मध्यनजर गरी आगामी आर्थिक वर्षका लागि सबै प्रकारका प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्तासहित भत्ता खारेज गरेको छु ।”
सरकारले आगामी आर्थिक वर्षमा कर्मचारीका लागि नयाँ दरबन्दी स्वीकृत नगर्ने नीति पनि बजेटमार्फत सार्वजनिक गरेको छ ।
“सबै सरकारी सेवा, नियामक निकाय र सार्वजनिक संस्थानमा आगामी आर्थिक वर्ष नयाँ संरचना र दरबन्दी सिर्जना गरिने छैन,” अर्थमन्त्रीले भनेका छन्, “सार्वजनिक प्रशासनको विद्यमान संरचना र दरबन्दीको पुनरवलोकन गरी छरितो बनाइने छ ।” कर्मचारीहरुले बजारमा महंगी बढेको भन्दै त्यसको अनुपातमा आफ्नो तलबमा पनि बृद्धि हुनुपर्ने माग गर्दै आएका थिए ।


