काठमाडौं । बारा–२ बाट प्रतिनिधिसभा सदस्यमा गठबन्धनका साझा उम्मेदवार रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन् । पछिल्लो मतगणनाको नतिजाअनुसार यादव २८ हजार ४१५ भोट ल्याएर विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहा २३ हजार ३३४ मत मात्रै ल्याउन सके ।
यस्तै नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले १०२१६ मत प्राप्त गरे । रास्वपाबाट उठेका रमेशप्रसाद खरेलले जम्मा २८२९ मत मात्रै पाए ।
मंसिर ४ को चुनावमा सप्तरी २ बाट जनमतका अध्यक्ष सीके राउतसँग १८ हजारभन्दा बढी अन्तरले चुनाव हारेका उपेन्द्र आफ्ना पार्टीका रामशहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर उपचुनावमार्फत संसदमा आएका हुन् ।


